गमलामा धेरै थरी तरकारी फलाउन सकिन्छ। कुनै तरकारी गमलामा सजिलै फल्छन भने कुनैलाई अल्ली बढि मेहनत र ख्याल चाहिन्छ।

तपाईलाई कौसीमा वा गमलामा केहि तरकारी फलाएको अनुभव छ र अरु थप तरकारी फलाउन चाहनुहुन्छ भने यो लेखमा गमलामा सजिलै फलाउन सकिने ५ तरकारीको बारेमा जानकारी लिएर आएका छौ।

टमाटर

टमाटर हरेक भान्छामा भित्रने मध्यको एक तरकारी हो। यसलाई कौसी, करेसा वा बरण्डामा सजिलै हुर्काउन र फलाउन सकिन्छ।

३-४ लिटर जति माटोमा गमलामा सजिलै टमाटर फल्छ। काठमाण्डौंमा फागुन देखि भदौ सम्म टमाटर रोप्न सकिन्छ। अरु ठाउँमा हल्का २०-३० डिग्रीको तापक्रम भएको बेला टमाटर फलाउन सकिन्छ। टमाटरलाई सिधै र चर्को पर्ने घामले पनि अल्ली असर गर्दछ। त्यसैले २-३ घण्टा सिधा घाम लाग्ने र उज्यालो ठाउमा टमाटर राम्रो भएको हाम्रो अनुभव छ। यसलाई चिसोले असर गर्छ त्यसैले बढि जाडो मौसममा पनि यो राम्रो हुन सक्दैन।

सिधै परेको पानीले पनि टमाटरलाई त्यति फाईदा हुदैन। गमलामा सिधै आकासको पानी नपर्ने ब्यबस्था मिलाउने हो भने टमाटरको राम्रो उत्पादन लिन सकिन्छ।

राम्रो फलेको बोटले करिव १ देखि २ किलो सम्म टमाटरको उत्पादन दिन्छ।

खुर्सानी

पिरो खुर्सानी ठुलो वा सानो सबै साईजका गमलामा राम्रो फल्छ। नियमित टिपेर प्रयोग गरि रहने हो भने २ बोट खुर्सानीले सानो परिवारको हरियो खुर्सानीको आपुर्ति पुरा गर्छ।

गमलामा सबैखाले खुर्सानी फलाउन सकिन्छ।

लामो पिरो खुर्सानी, अकबरे खुर्सानी र भेंडेखुर्सानी सबै गमलामा हुन्छन।

गमलामा फलिसके पछि नियमित टिपिरहने हो भने नयाँ खुर्सानी पनि तयार हुदै जान्छन।

भेन्टा

अल्ली ठुलो गमलामा रोप्ने हो भने भेन्टा पनि सजिलै गमलामै तयार हुन सक्छन। भेन्टाको जरा अल्ली फिजारिएको हुन्छ। यसको बोट पनि ठुलो हुने हुँदा यसलाई अल्ली बढि पानी दिनुपर्छ । खुर्सानी जस्तै भेन्टाको पनि पुराना फल नियमित टिपिरहने हो भने नयाँ फलहरु पनि लागिरहन्छन।

भेन्टा बहुबर्षिय तरकारीका रुपमा पनि हुर्काईरहन सकिन्छ। एक बर्ष लगाएका भेन्टालाई काँट छाँट गरेर अर्को बर्ष फलाउनका लागि पनि राख्न सकिन्छ।

केराउ

केराउ पनि गमलामा सजिलै हुने तरकारी हो। केराउको दाना रोपेर गमलामै नयाँ बोटबाट स्वादिलो केराउ फलाउन सकिन्छ। केराउलाई पनि ३-४ लिटर बराबरको माटो अटाउने गमलामा रोप्न सकिन्छ। टमाटर खुर्सानी र बोडि जस्तै यो पनि एक बोटबाट ३-४ पटक सम्म फल लिन सकिन्छ।

सिमी

सिमी पनि गमलामा सजिलै हुर्काउन सकिने तरकारी हो। सिमिहरु थरी थरीका हुन्छन। काठमाण्डौमा चौमासे जातको सिमि बिभिन्न समयमा  (एकदम जाडो ३ महिना  बाहेक) लगाउन सकिन्छन। लहरा जाने र नजाउने प्रजाति हेरी यसको रेखदेख र सपोर्टको ब्यबस्था गर्न सकियो भने सिमिले पनि राम्रो उत्पादन दिन्छ। घाम खेल्ने  कौसी वा करेसामा सिमी निकै राम्रो हुन्छ।

गमलामा लगाउने बिरुवालाई पानीको ब्यव्थापन निकै ध्यानपुर्वक गर्नु पर्दछ।

गमलामा कसरी पानी दिने भन्ने बारे हामीले लेखेको एक लेख यहा छ।