शारदा श्रेष्ठ, योकोहामा, जापान

जापानको योकोहामामा हाम्रो परिवारले नयाँ घर किनेको केहि बर्ष  भयो।

मलाई फूलको एलर्जीको समस्या छ। त्यसैले नयाँ घरमा हामीले फूलहरु रोप्न चाहेनौ। यो घर सानो एरियामा बनेको छ। वरिपरी खासै बगैंचा हुने ठूलो ठाउँ पनि  छैन। हामी घर सर्दा कम्पाउन्डको एक कुनामा चाहि घर बनाउदा बाँकी रहेका सामान र रोडा थुपरिएको थियो।  मैले एक जना नेपाली भाईको सहयोगमा त्यसलाई सफा गराँए। 

खाली ठाउ देखे पछि मेरो मनमा केहि रोपौं की भन्ने लाग्यो तर फूलबारीले एलर्जीको समस्या निकाल्छ भन्ने मलाई थाहा थियो। त्यसैले मैले तरकारी रोप्ने सोच बनाए। अहिले मेरो घरको छेउ छाउ फूल फुलेका छैनन बरु तरकारी फलेका छन।

मेरो घरको वरिपरी १४-१५ वटा गमला छन्। ति गमलामा समय समयमा थरीथरी तरकारी र मसला फल्छन। केरेला, लौका, फर्सी र घिरौला जस्ता तरकारी ठुला गमलामा फल्छन। बोडि,सिमी, खुर्सानी (फरक फरक खाले), धनिँया, साग, टमाटर चाहि अल्ली सानो गमलामा हुन्छन।

म काठमान्डौको बानेश्वरमा हुर्किएकी हुँ। मैले एक निजी बिमान कम्पनीमा बिमान परिचारक ( ईयर होस्टेज)का रुपमा काम गरें। बिबाह पछि म जापान मै बस्तै आएको छु। र, यहि हो मैले पहिलो पटक तरकारी र सागसब्जी फलाएको।

नेपालमा छदाँ, बुवासंग बिभिन्न जिल्ला जाने मौका मिल्थ्यो। गाँउमा खेती गरेको त देखिन्थ्यो ध्यान जान्थेन। मामा घर जादा माईजुहरुसंग खेतमा खेल्न गईन्थ्यो तर माईजुहरुले पनि बारीमा नखेल्न सल्लाह दिनुहुन्थ्यो।

बानेश्वरमा बुवाले झ्यालको टपमा केहि माटो राखेर खुर्सानी र साना बोट हुने फलफूलहरु फलाउने ठाउँ बनाउनु भएको थियो। त्यसमा केहि समय हाम्रो परिवारले थोरै तरकारी फलाएको थियो। पछि, त्यसैका कारण घरको भित्री भाग चिसो भयो भनेर हामीले तरकारी रोप्न छाड्यौ।  तरकारी लगाउन मैले खासै जानेको हैन बरु गर्दै सिक्दै गरेको चाहि हो।

जापानको हाम्रो घर नजिक ‘होम सेन्टर’ छ। यहाँ करेसा वा गमलामा तरकारी फलाउन चाहिने सबै सामान पाईन्छन्। गमाला, मल, माटो र विऊ सबै पाईन्छन। यस्ता सेन्टरमा तरकारीका बिरुवा पनि पाईन्छन। करेसाबारीमा देखा परेका समस्याको उपचारको लागि सहयोग गर्ने प्राबिधिकसंग पनि सजिलै भेट हुन्छ। नजानेको कुरा बुझ्न सजिलो छ। कुनै रोग लागेको आशंका लागे फोटो खिचेर देखाएर उपचार बारे सल्लाह लिन पनि सजिलो छ।

घिरौलाको तरकारी खान सकिन्छ भन्दा कति मानिसहरु छक्क पर्छन।

यतातिर घिरौला फलाउने पालाउने चलन पनि छ तर तरकारीको लागि हैन। छिप्पिएको घिरौलाको जालोको प्रयोगमा आउछ यता। मैले घिरौलाको तरकारी खान सकिन्छ भन्दा कति मानिसहरु छक्क पर्छन। कतिलाई त मैले घिरौलाको तरकारी पकाएर खुवाएको छु।

धनिया र टमाटरको चटनीको अचार पनि मैले नेपाली र जापानी दुबै साथीहरुलाई खुवाएको छु। मेरा केहि जापानीहरुले पनि यो स्वाद निकै मन पराए। उनिहरुले आफै पनि बनाएर खाएको बताउछन। स्वाद चाहि मैले बनाएको जस्तो हुदै न रे!

जापानी स्टाईलमा भेन्टाको तरकारी।

जापानमा पिरो र हरियो खुर्सानी त्यति सजिलै पाउन सकिदैन। सुकेके चाहि पाईन्छ तर पनि त्यति पिरो हुदैन। नेपाली पाराको स्वाद चाहि आफैले हुर्काएका तरकारीहरुबाट मात्र आउछ।

कहिले काहि एकै समयमा धेरै तरकारीहरु फल्दछन। घिरौला, करेला र चिफ्ले भिन्डीलाई फ्रीजमा राखेर पनि केहि दिन पछि खाने गारेका छौं। टमाटरलाई सुकाएर पछि प्रयोग  पनि गरेका गर्छौं। एउटै तरकारी  फरक फरक तरिकाबाट पकाउदा स्वाद फेरिन्छ। भेन्टालाई चाहि हामीले जापानिज स्टाईलमा पोलेर पनि पकाउछौं। यो परिकार मेरा छोरीहरुलाई निक्कै मन पर्छ।

घरको बार्दलीले सिकायो तरकारी खेती।

फुर्सदको समयको सदुपयोग गर्न भनेर मैले घरको बरन्डामा केहि गमलामा खुर्सानी र धनिया जस्ता मसला फलाउन शुरु गरेको थिए। त्यतिबेला हामी भाडाको घरमा बस्थ्यौं। बरन्डामा पनि राम्रो खुर्सानी धनिँया हुने थाहा पाए पछि म अझै हौसिएको थिए।

आफैले फलाएर खान पाउदा एक प्रकारको संतुष्टि हुदोरहेछ। आँखै अगाडी हरियाली भैरहदा यसले खुसी प्रदान पनि गर्दछ।

टिमूर र निम हुर्काउने कोसिस

तरकारी मात्र नभएर मैले मसला पनि फल्छन की भनेर कोसिस पनि गरेको छु। अहिले टिमूर रोपेको छु। जाडो मौसममा टिमूर राम्रो हुनुपर्ने हो। निम पनि रोपेको छु। जाडोमा चाहि निमलाई अल्ली गाह्रो हुन्छ भनेर भनेका छन। गमलामा रोपेर जाडो महिनामा चाहि घर भित्र लैजाने योजना छ मेरो निमलाई।

गमलाखेतीले घरमा ल्याएको खुसी।

मेरो श्रीमान यहाँको एक विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ। हाम्रा २ छोरीहरु छन। हाम्री कान्छी छोरीलाई तरकारी र बोट बिरुवालाई स्याहार सुसार गर्न मन पर्छ। श्रीमान र ठुली छोरी पनि फुर्सद मिलाएर मलाई सहयोग गर्नुहुन्छ। हामीसबै मिलेर गमलाखेतीमा रमाउन पाउदाका पलहरुले मलाई निकै आनन्द दिन्छन।