खाली जमिन र तपाईको पुर्ण चाहना मिल्यो भने तरकारी फल्छ फल्छ। तपाईले ईच्छा गर्नु भयो भने तरकारी त फल्छ चाहे करेसामा होस या कौसीमा। तपाईले घर वरिपरीको खाली ठाउलाई सदुपयोग गर्न सक्नुभयो भने आफ्नो परिवारलाई चाहिने अर्गानिक तरकारी फलाउन त्यति गाह्रो छैन। नियमित तरकारी फालउदा एक बर्षमा हजारौ पैसाको वचत समेत हुन्छ। नियमित ब्यायाम हुने र बिषादीरहित खान पाईने हुनाले लामो समय बाच्न पनि पाईन्छ।

आफैले फलाउन कत्रो ठाँउ चाहिन्छ?

सिजनका सागसब्जी, आलु, मुला, खुर्सानी र धनिया  जस्ता तरकारी फलाउन ठुलो जमिन चाहिँदैन। राम्रोसंग घाम लाग्ने एक – आधा कठ्ठा (आधा रोपनी जग्गा )जमिन भए ४-६ जनाको परिवारलाई आवश्यकता पर्ने  तरकारी फलाउन सकिन्छ।

घरसंगै आफ्नो वा छिमेकीको जग्गा खालि छ र तपाई बजारबाट नियमित तरकारी किनेर खाई रहनुभएको छ भने पैसा र स्वास्थ्य दुबैको नोक्सानी गरिरहनुभएको छ।  घर छेउमा खाली ठाउ नहुनेहरुले कौसीमा तरकारी खेती गर्न थालेका छन काठमाण्डौ जस्ता सहरमा। महिनामा १ -२ दिन दिनभरी र हरेक दिन आधा घण्टा मेहनत गर्दा घरमा बर्षभरी प्रयोग हुने हरियो तरकारीको ८०% आपुर्ती तपाईकै करेसाखेतीबाट हुन्छ।

करेसाखेतीको डिजाईन घर निर्माण गरेर खाली रहेको जग्गाको आकार र क्षेत्रफल हेरीकन  गर्न सकिन्छ। घर बनाएर एकदम थोरै जग्गा खाली रहेको छ भने, कम्पाउण्डको छेउमा ड्रम वा माटोमा लहरे बाली (फर्सी, घिरौला, स्कुस) लागाउने र कौसी र छतमा धनिया, मुला, र खुर्सानी जस्ता तरकारी फलाउने योजना पनि बनाउन सकिन्छ।

घर बनाएर पनि २-३ कठ्ठा (एक रोपनी भन्दा) बढि जग्गा खाली छ भने त लगभग बर्षभरीकै हरियो तरकारी खाएर  छर छिमेकलाई पनि अर्गानिक खुवाउन सक्नुहुन्छ। छिमेकीलाई तरकारी बेचेर आएको रकम करेसाको व्यबस्थापनमा पनि खर्च गर्न सकिन्छ।

करेसा/कौसीखेती लोकप्रिय बन्दै गएको छ।

सहरमा खेती गर्ने सिप नौलो बन्दै गएको छ। धेरैले आफै फलाएर खाने सौख पनि शुरु गरेका छन। अर्गानिक खान पाउने, खर्च कटौती हुने र मानसिक अनि शारिरीक ब्यायाम हुने भएका हुनाले मानिसहरु कौसीखेती वा करेसाखेतीमा ईच्छुक हुदै गईरहेका छन्।

खेती गर्न तरिका थाहा छैन?

यदि तपाईलाई तरकारी खेती गर्ने तरिका थाहा छैन भने यसबारे सिकाउने गुरुहरु तपाईको वरिपरी धेरै हुनुहुन्छ। नेपालमा अहिले ४०-६५ बर्ष उमेर समुहका बहुसंख्यक मानिसले कुनै न कुनै प्रकारको किसानी काम गरेका छन। तपाईको घरमा तपाई भन्दा अगाडिको पुस्ताको कोहि हुनुहुन्छ भने उहाँको आईडिया र तपाईको मेहनतमा करेसाखेती सफल हुन सक्दछ।

वडा तथा पालिका कार्यलयमा कृषि प्राविधिकहरु खटिएका छन। उनिहरुलाई भेटेर करेसाखेतीको बारेमा योजना बनाउने, सिजन अनुसार के रोप्ने भनेर तालिका बनाउने र उनिहरुसंग समय-समयमा नजानेको कुरा सोधेर पनि करेसाखेती गर्न सकिन्छ। तपाईको छरछिमेकमा आफै खान वा व्यबसायिक तरकारीखेती गर्ने किसान छन भने उनिहरुले गरेको काम हेरेर पनि सजिलै सिक्न सकिन्छ।  

हिन्दी र अंग्रेजी भाषा जान्नुहुन्छ र तपाईसंग ईन्टरनेटको सुविधा छ भने कतिपय कुरा यू-ट्युबमा हेरेर पनि सिक्न सकिन्छ। यसरी विदेशबाट तरिका सिक्दा चाहि मौसम र सिजनको बारेमा हेक्का राख्नु पर्दछ।

सानो एरियामा धेरै फालाउनु पर्ने भएकाले नयाँ र उन्तन प्रजातिका तरकारी लागाउनु राम्रो हुन्छ। नयाँ र उन्नत जातका तरकारीका बिउ बेच्नका लागि तपाईको घर छेउ वा नजिकको बजारमा एग्रोभेट चलेकै छन। त्यहाबाट पनि जानकारी लिन सकिन्छ।

मल र सिँचाई

करेसाखेतीको एक अर्को सजिलो पनि छ। करेसाखेती गर्दा ज्यादा मल र पानीको जरुरी पर्दैन। गाईभैसी पालन गर्ने किसानहरु  तपाईको घर नजिकै हुनसक्छन। एक ट्रयाक्टर जति गोबरमल किनेर करेसाबारीमा छर्ने हो भने त्यो मलले केहि बर्ष सम्म बिरुवालाई खाद्यपदार्थ पुर्ण रुपमा प्रदान गर्दछ।

सानो एरियामा गरिने करेसाखेतीमा पानी पनि ज्यादा खपत हुदैन। घरबाट निस्कने पानीले पनि करेसा सिँचाई गर्न सकिन्छ। र, बचेको करेसामा अरु पानीको स्रोतबाट सजिलै ब्यवस्थापन गर्न सकिन्छ।